१९ मंसिर, डोटी । जिल्ला अस्पताल डोटीको आइसोलेशनबाट भागेका बझाङका १६ वर्षका राजेन्द्र बोहोरा पक्राउ परेका छन् ।
सानागाउँको जङ्गलमा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए ।
उनका अनुसार पक्राउ परेका बोहोरालाई जिल्ला अस्पताल राख्ने वा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परि पूर्पक्षका लागि डोटीको जिल्ला बालसुधार गृहमा राखिएका बोहोरालाई कोरोना भाइरसको सङ्क्रमण भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखिएको थियो ।
उनी गएराति ११ बजे शौचालयको भेन्टिलेसन फुटाएर भागेका थिए । यस्तै, राजेन्द्र बोहोराको सुरक्षामा खटिएका तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्या आरोप लागेका बोहोराको सुरक्षामा अस्पतालको आइसोलेशनमा खटिएका तीन जना प्रहरीलाई निलम्बन गरेको जानकारी दिए ।
दिएको जिम्मेवारीमा कमजोरी र लापरबाही गरेको भन्दै निलम्बन गरिएको उनले बताए । गएको असोज ७ गते बोहराले सम्झना विकलाई बलात्कार गरी हत्या गरेका थिए ।
त्यसअघि पनि बोहराले मष्टा गाउँपालिकाकै १४ वर्षकी अर्की बालिकालाई पनि बलात्कार गरेका थिए । यो घटनालाई गाउँमै मिलापत्र गराउने ८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।