यतिले ८ हजार ८ सयमा दुई जनालाई माउन्टेन फ्लाइटमा उडाउने

यतिले ८ हजार ८ सयमा दुई जनालाई माउन्टेन फ्लाइटमा उडाउने

२० मंसिर, काठमाडौं ।

यति एयरलाइन्सले शनिबार देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ ।

एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार शनिबार बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए ।

उनका अनुसार अब प्रत्येक शनिबार काठमाडौंबाट नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन् । एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ ।

एयरलाइन्सले सगरमाथाको उचाई बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ । जसका कारण माग बढेको प्रवक्ता बार्तौलाले बताए ।

यस्तै एक जना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उनले बताए । कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरी उडान गरिएको बार्तौलाले बताए ।

पर्वतीय उडानमा सहभागि भएका यात्रुहरुले नजिकैबाट हिमालय देख्न पाउँदा खुशी लागेको बताएका छन् । एउटा टिकट किन्दा अर्को सित्तैमा पाउँदा सस्तो पनि भएको र जहाजबाट हिमाल अवलोकन गर्दा निकै आनन्द महसुस भएको बताए ।

शनिबारको पर्वतीय उडानमा गएका ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुशी लागेको बताए ।

एयरलाइन्सले यात्रुहरुको माग बढ्दै गए उडान संख्या बढाउँदै जाने बताएको छ । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतीय उडानमा भारी छुट दिइएको एयरलाइन्सले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.