पोखरा महानगरले बनाउने ‘हाइ अल्टिच्युड’ रङ्गशालाको डिपिआर तयार

पोखरा महानगरले बनाउने ‘हाइ अल्टिच्युड’ रङ्गशालाको डिपिआर तयार

२१ मंसिर, कास्की।

पोखरा महानगरपालिका–२० को मौजामा उच्च पर्वतीय (हाइ अल्टिच्युड) रङ्गशाला निर्माण हुने भएको छ । समुन्द्र सतहबाट एक हजार ७०० मिटर उचाइमा अवस्थित मौजाको तोयँढाप डाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहित खेल पूर्वाधार निर्माण गर्न लागेको हो ।

महानगरको चालू आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा बजेट कार्यक्रममा हाइ अल्टिच्युड खेल मैदानका लागि भनेर रु ५० लाख बजेट विनियोजन गरिएको थियो । महानगरको सबैभन्दा उचाइमा बन्ने भएकाले महानगरले हाइ अल्टिच्युड रङ्गशाला नाम दिएको हो ।

रङ्गशाला निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र आगामी पुस महिनादेखी जमिन समधर बनाएर खेल्न योग्य बनाउने काम शुरु गरिने सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए। फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम) र दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट निर्माणका लागि डिपिआरमा रु १६ करोड खर्च लाग्ने उल्लेख छ । यसैगरी चमेनागृह, शौचालयलगायत पूर्वाधार पनि निर्माण गरिनेछ ।

“महानगरकोे सबैभन्दा उचाइमा रहेको यस स्थानमा रङ्गशाला निर्माण गरी खेल पर्यटन प्रवद्र्धनको योजनाअनुसार डिपिआर बनिसकेको छ”, वडाध्यक्ष गुरुङले भने, “चालू आवमा विनियोजित बजेटबाट अब तत्कालै जमिन सम्माउने काम शुरु गछौँ, अन्य पूर्वाधार निर्माणका लागि महानगरबाट आगामी वर्ष थप बजेट विनियोजन हुनेछ भने प्रदेश र सङ्घ सरकारसँग पनि बजेट माग गछौँ ।”

प्रश्तावित रङ्गशालाबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरवस्ती तथा हरियाली जङ्गलको सुन्दरताले सो क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेका छन् । मौजाको आँटीघर होमस्टे (घरवास) नेपाल सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्य मध्यमा पर्दछ । विगतमा सडक, खानेपानीलगायत पूर्वाधार विकासमा पछि परेको यस वडामा हाल महानगरको कनेक्टिभिटी सडक योजनाअन्तगर्त पक्की सडक निर्माण भइरहेको छ ।

सडकको सहज पहुँच र आकर्षण पर्यटकीय गन्तव्य बोकेको स्थानमा निर्माण हुने रङ्गशालाबाट खेल पर्यटनसमेत विकास हुने भनाइ वडाध्यक्ष गुरुङको छ । उनले भने, “यसको सम्भावना धेरैनै राम्रो छ र यो महानगरको गौरवको आयोजना पनि बन्छ, रङ्गशाला बनाउने, होमस्टेको विकास गर्ने र राष्ट्रिय खेलाडीलाई यहीँ राखेर प्रशिक्षण गराउने योजना छ ।”

महानगरको सबैभन्दा उचाइमा खेलकूद पूर्वाधार निर्माण हुनेभएपछि स्थानीयवासी समेत उत्साहित भएका छन् । स्थानीयवासी एमन गुरुङले रङ्गशाला बनेपछि थप पर्यटक गाउँमा भित्रिने र अन्य विकासका योजनासमेत गाउँमा आउने विश्वासमा छन् । विगतमा गाउँमा विकास नहुँदा शहर झरेकासमेत अहिले गाउँ फर्किन थालेको र विस्तारै विकट गाउँ ‘गुल्जार’ हुने उनको भनाई छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.