आठ महिनापछि खुल्यो लुम्बिनीको मायादेवी मन्दिर

आठ महिनापछि खुल्यो लुम्बिनीको मायादेवी मन्दिर

२१ मंसिर, लुम्बिनी ।

कोरोना महामारीका कारण विगत आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि आइतबारदेखि खुल्ला गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे। लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए।

विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले बताए ।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने बताए।

यसअघि मंसिर ३ गते मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुल्ला गरिएको थियो । तर लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर नखुल्दा पर्यटक आगमन बढ्न सकेको थिएन । लकडाउनको समयमा लुम्बिनी विकास कोषले लुम्बिनीको पवित्र उद्यान लगायतका क्षेत्रमा सरसफाइ र सौन्दर्यीकरण गरेर थप आकर्षक बनाएको राईले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.