गहुँ र मकैको पनि न्यूनतम समर्थन मूल्य तोक्ने तयारी

गहुँ र मकैको पनि न्यूनतम समर्थन मूल्य तोक्ने तयारी

धानको न्यूनतम समर्थन मूल्य तोक्दा त्यसको सकारात्मक परिणाम देखिएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गहुँ र मकैको समर्थन मूल्य तोकेर त्यसलाई खरिद गर्ने नीति बनाइरहेको छ । त्यसैअनुरूप गहुँ र मकै लगाउनु पहिले नै न्यूनतम समर्थन मूल्य तोक्ने तयारी मन्त्रालयले गरिरहेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले गहुँ र मकैको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी भइरहेको र मङ्सिरको अन्तिम अथवा पुसको पहिलो हप्ताभित्र मूल्य घोषणा गरिने बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको वस्तु बिक्री नभए सरकारले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ भन्ने नीतिअन्तर्गत तोकिएको समर्थन मूल्यअनुसार सो वस्तु खरिद गरिने जानकारी दिनुभयो ।

धानको न्यूतनमत समर्थन मूल्य तोकेर बिक्री हुन नसकेको धान सहकारीमार्फत खरिद गर्ने काम जारी रहेको र यसबाट किसान निकै खुसी भएको बताउँदै मन्त्रालयका सचिव योगेन्द्र कार्कीले धानजस्तै गहुँ, मकैलगायतका वस्तु पनि खरिद गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने समग्रमा एउटा नीति बनाउन लागेको छ र सोहीअनुसार बिक्री नभएका वस्तु सरकारले खरिद गर्नेछ । ”

किसानको बचत सुनिश्चित हुनुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले किसानले मिहिनेत गरेपछि बचत भएन भने कृषिबाट पलायन हुनसक्ने भएकाले बचत सुनिश्चित गर्न सरकार नीति निर्माणमा लागेको बताउनुभयो ।

समर्थन मूल्य तोकेअनुसार व्यापारीले खरिद गर्न नमानेपछि सरकारले नै सो वस्तु खरिद गर्ने र त्यसरी खरिद गरेपछि किसानलाई स्वतः बचत हुने मन्त्रालयले दाबी गरेको छ । गहुँको मूल्य गत साल पनि तोकिएको थियो तर सरकारले नै खरिद गर्ने नीति बनाएको थिएन । मकैको मूल्य प्रथमपटक तोकिन लागेको हो । विभिन्न जिल्लाबाट लागत खर्च तथा अन्य विषयमा अध्ययन भइरहेको र दिनमा त्यसलाई पूर्णता दिई मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याउने सचिव कार्कीले बताउनुभयो ।

गत वर्ष गहुँको प्रतिक्विन्टल तीन हजार १५ रुपियाँ मूल्य तोकिएको थियो । यसपटक पनि त्यसैको सेरोफेरोमा हुने तयारी भइरहेको प्रवक्ता केसीले बताउनुभयो । कोरोनाका कारण विभिन्न सामग्रीको मूल्यमा वृद्धि भइरहेको हुनाले गहुँको लागत खर्च बढ्ने हो कि अनुमान गरिएको छ । त्यसलाई आधार मानेर पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष उत्पादन लागत दुई हजार ३१९ रुपियाँ ४९ पैसा, ढुवानी खर्च २३१ रुपियाँ ९५ पैसा र किसानलाई नाफा ४६३ रुपियाँ ९० पैसासहित तीन हजार १५ रुपियाँ ३४ पैसा समर्थन मूल्य तोकिएको थियो । यसपटक कति गर्ने त्यसमा अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उत्पादन हुनुभन्दा पहिले नै मूल्य तोक्यो भने किसान बाली लगाउन उत्साहित हुने बताउँदै उहाँले बिस्तारै हरेक बालीको बाली लगाउनुपूर्व नै मूल्य तोक्ने नीति सरकारले बनाइरहेको बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.