२२ मंसिर, रौतहट ।
रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।
भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको स्रोतले बताएको छ । ०६४ चैत २७मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो ।
त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ । अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए ।
तत्कालीन एसपी भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गर्न सफल भएका थिए । आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।