२३ मंसिर, काठमाडौं ।
सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ।
ती दुई जनाको अनुसन्धान बाँकी नै रहेकाले नाम नखुलाइएको ब्यूरोले जनाएको छ। ‘‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टीकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरुलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले जारी गरेको सूचनामा जनाइएको छ।