२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सरकारविरूद्ध देशैभर प्रदर्शन गर्ने बताएको कांग्रेसले उक्त प्रदर्शनबारे रणनीति तय गर्न बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको हो।
बैठक बिहीबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
भ्रष्टाचार बढेकोलगायत विषयमा कांग्रेसले मंसिर २९ गते सबै जिल्लामा प्रदर्शन गर्न लागेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारीबारे पनि छलफल हुनेछ।
‘२९ गतेको प्रदर्शन र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो,’ उनले सेतोपाटीसँग भने।
जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रबाट प्रतिनिधि पठाउनेरनपठाउनेबारे पनि बैठकले निर्णय गर्नेछ।
गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको थियो। उक्त घटना नेकपाको केन्द्रकै निर्देशनमा भएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ।