२४ मंसिर, विराटनगर । देशका पछिल्ला राजनीतिक घटनाक्रम सुखद् छैनन् । राजावादीहरुको गतिविधि त छँदैछ एकीकृत जनक्रान्तिलाई अघि बढाएको बताउने प्रतिबन्धित नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा व्यक्ति हत्याको तहमा पुगेको छ । सरकार प्रतिरक्षामा उत्रिएपनि विप्लव माओवादीका नामले चिनिने उसको निशानामा सर्वसाधारण पर्न थाल्दा अब देशमा फेरि युद्ध निम्तिन लागेको हो ? भन्ने जिज्ञासा उब्जिन थालेको छ । पछिल्लो घटनाले अनिष्टको संकेत दिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्री स्वयंले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भनेर अभिव्यक्ति दिँदा जनतामा थप त्रास फैलिएको छ । यसअघि पनि नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयले पृतनापति सम्मेलनमा विप्लव समूहलाई मुख्य सुरक्षा चुनौतिको रुपमा विश्लेषण गर्दै समूहले हिंसात्मक गतिविधि बढाउन सक्ने रिपोर्टिङ गरेको थियो । गतवर्ष संघीय संसदमै गृहमन्त्री रामबहादुर थापाले पनि विप्लव समूहले जनपरिषद् गठन गरेको र चार कम्पनी सेना बनाएको खुलासा गरेका थिए । यस्ता अनुमान र आशंकाहरु माझ बढिरहेको गतिविधिले प्रतिबन्धित विप्लव समूह सैन्य गतिविधि तिर लागेको संकेत दिएको छ । प्रधानमन्त्रीको हत्या हिंसाको पूरानो कालखण्ड दोहोरिन लागेको भनाईको अर्थ के हो ? देशमा त्यहि कालखण्ड दोहोरिन लागेको ज्ञात भइसक्दा सरकारको प्रतिक्रिया अभिव्यक्ति मात्र हो कि व्यवहारगत प्रतिक्रिया पनि ? सरकारले अब थप प्रतिक्रिया चाल्दा देशमा झनै द्धन्द्धको खतरा बढ्ने देखिन्छ । तर विप्लव समूहका गतिविधिलाई निस्तेज पार्न सरकारले प्रभावकारी भूमिका खेल्न नसके जनताले थप त्रासदी भोग्नुपर्ने अवस्था सिर्जना हुने हो कि भन्ने त्रास जनतामा पर्न थालिसकेको छ ।