नेपालमा हुने विश्वकप छनोट खेलको मिति सार्वजनिक

नेपालमा हुने विश्वकप छनोट खेलको मिति सार्वजनिक

२६ मंसिर, काठमाडौं ।

कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक भएकाे छ । एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेकाे हाे ।

सन् २०२० कै मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर-नोभेम्बरलाई सारिएको थियो । तर स्थिति सुधार नहुँदा एएफसीले खेल स्थगित गरेको थियो ।

अब नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको छ । छनोट अन्तर्गत ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ । बाँकी सबै खेल दशरथ रंगशालामा हुनेछ ।

एएफसीले नेपाल र चाइनिज ताइपेइको खेल २५ मार्च २०२१ (चैत्र १२ २०७७) को लागि तोकेको छ । नेपालले त्यसको ५ दिनपछि नै ३० मार्चमा (चैत्र १७) अष्ट्रेलियासँग खेल्नेछ । विश्वकप छनोटको अन्तिम खेलमा नेपालले जोर्डनको सामना गर्नेछ । उक्त खेल ७ जुन २०२१ मा (२४ जेठ २०७८) हुनेछ ।

नेपालले विश्वकप छनोटमा एकमात्र जितको रुपमा चाइनिज ताइपेइको मैदानमा २-० को जित दर्ता गरेको थियो । उक्त खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले पछिल्लो पटक कुवेतविरुद्ध खेलेको थियो । रंगशाला खेल्न योग्य नहुँदा भुटानमा भएको उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल हाल अंक तालिकाको चौथो स्थानमा छ ।

राष्ट्रिय टोलीले आइतबारदेखि विश्वकप छनोटलाई लक्षित गरेर तयारी सुरु गर्दैछ । प्रमुख प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि हाल बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निभाएका छन् । एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी थालेकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.