धमाधम खुल्दै विद्यालयहरु, हतारमा विद्यालय खोल्ने निर्णय गर्नु घातक हुने मन्त्रालयको चेतावनी

धमाधम खुल्दै विद्यालयहरु, हतारमा विद्यालय खोल्ने निर्णय गर्नु घातक हुने मन्त्रालयको चेतावनी

२८ मंसिर, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले कोरोना महामारीबीच आफ्नो क्षेत्रका विद्यालय खोल्न निर्देशन दिइरहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय खोल्न दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले भने हतारमा विद्यालय खोल्ने निर्णय कोरोना संक्रमण प्रसारका दृष्टिले घातक हुन सक्ने औँल्याएको छ ।

स्थानीय जनप्रतिनिधि भने महामारीका वेला राज्यले भिड व्यवस्थापन गर्न नसकेको बताउँदै अब विद्यालय पनि बन्द राख्न नहुने अडानमा देखिएका छन् । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी संघीय सरकारले जेसुकै निर्णय गरे पनि आफूले विद्यालय खोल्न निर्देशन दिएको बताउँछन् । ‘पार्टी प्यालेस, हाटबजार, चाडबाड सबै खुला गर्ने अनि विद्यालय बन्द गरेर बस भन्न कुन हिसाबले मिल्छ ?’ नगरप्रमुख गिरीले भने, ‘राज्यले अन्य क्षेत्र बन्द गर्न के गृहकार्य ग¥यो ? विद्यार्थीको शिक्षालाई मात्रै ध्वस्त पार्न अनन्तकालसम्म बन्द राख्ने निर्णय मान्न हामी तयार छैनौंँ ।’

सबै क्षेत्र खुला गर्ने अनि विद्यालय बन्द राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्न नपाइने उनी बताउँछन् । ‘कोरोना सबैतिर छ । नगरपालिकाले पठन–पाठनविनै शिक्षकहरूका लागि करोडौँ खर्च गरिसकेको छ । तर, चैतदेखि विद्यालय खुलेका छैनन्,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा विद्यालय खुलाई पठन–पाठन पूर्ववत् अवस्थामा ल्याउन निर्देशन दिएको छु ।’

यस्तै, गोकर्णेश्वर नगरपालिकाले पनि विद्यालय खोल्न निर्देशन दिएको छ । जसरी पनि विद्यालय खुलेर पठन–पाठन सञ्चालनमा ल्याउनुपर्ने अडानमा उक्त नगरपालिकाका जनप्रतिनिधि पनि देखिएका छन् । बाहिर चर्चा भएजस्तो कोरोना संक्रमण गम्भीर अवस्थामा नरहेको उनीहरूको बुझाइ देखिन्छ । अनावश्यक विद्यालय बन्द राखेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने प्रयास भइरहेको उनीहरू बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य नगर क्षेत्रका विद्यालय खोल्न निर्देशन भइसकेको बताउँछन् । ‘हामीले विद्यालय खोल्न निर्देशन दिएका छौँ,’ आचार्यले भने, ‘कुनै पनि विद्यार्थीमा संक्रमण देखिँदा फेरि विद्यालय बन्द हुनेछन् ।’

‘विद्यालय खोल्ने निर्णय गम्भीर भुल’
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले विद्यालय खोल्ने निर्णय गर्नु र खोलिनु गम्भीर भुल हुने बताए । विद्यालय खोल्ने विषयमा मन्त्रालयले कुनै निर्णय नगरेको र तत्काल खोल्ने अवस्था पनि नदेखिएको उनको भनाइ छ । ‘विद्यालय खोल्ने विषयमा कुनै निर्णय भएको छैन,’ डा. अधिकारीले भने, ‘स्थानीय तहले खोल्न निर्देशन दिएको सुनिएको छ । हामीले विगतमा जे भनेका थियौँ, अहिले पनि त्यही हो । हतारमा निर्णय गरियो भने त्यसले गम्भीर समस्या ल्याउनेछ । त्यसैले, हतारमा विद्यालय खोल्नु घातक हुनेछ ।’

कोरोना संक्रमितको पछिल्लो दैनिक तथ्यांक हेर्दा आधाभन्दा बढी संक्रमित उपत्यकामा देखिएका छन् । शनिबार मात्रै आठ सय ९९ जनामा संक्रमण देखिँदा उपत्यकामा चार सय ८६ जना छन् । तीमध्ये पनि काठमाडौं जिल्लाका तीन सय ८१ जना छन् । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गर्दा यहीँका जनप्रतिनिधिले जबर्जस्ती विद्यालय खोल्न लगाउनु थप जोखिम निम्त्याउनु रहेको चिकित्सकहरू बताउँछन् ।

दुई लाख ४७ हजार पुगे संक्रमित
शनिबार पाँच हजार दुई सय ४२ वटा नमुना परीक्षण गर्दा आठ सय ९९ जना संक्रमित थपिएका हन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ भने एक हजार तीन सय ५९ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक हजार ६ सय ८९ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । निको भएकाहरूको दर भने ९४ प्रतिशत छ । तथ्यांकअनुसार हालसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ३४ हजार दुई सय ३१ जना निको भएका छन् । (नयाँ पत्रिका)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.