२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
विभिन्न जिल्लाका विरोध प्रर्दशनमा सहभागि भएका नेताहरुले सरकारमाथि आरोपका भारी बोकाउदै सडकबाटै धावा बोलेका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गरेका छन् । नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद ल्याउन खोजेपनि जनताले स्वतन्त्र र लोकतन्त्रका लागि लडेकाले त्यो सम्भव नरहेको बताएका हुन । उनले ओली सरकारकै अकर्मण्यताले सडकमा राजाको पक्षमा नारा लागेको भन्दै राजा फर्कने सम्भावना पनि नरहेको दावी गरे । वर्तमान सरकारकै कारण भ्रष्टाचार, बलात्कार जस्ता घटना बढिरहेको भन्दै भ्रष्टाचार, बलात्कार जस्ता विकृतिको अन्त्य र सर्वसत्तावादको विरुद्धमा कांग्रेस सडकमा उत्रिएको उनको तर्क थियो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले औषधी खरिदमा भएको भ्रष्टाचारलाई ढाकछोप गरेर सरकारले भ्रष्टाचारलाई नै प्रोत्साहन गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकले यसलाई पुष्टि गरिदिएको बताए । यसैवीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको आरोप लगाएका छन् । सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताए । लोकतन्त्रमाथि प्रहार गर्नेहरुमा प्रतिगामी तत्व (राजावादी) र विप्लव माओवादी दोस्रो र तेस्रो रहेको पनि उनको भनाइ थियो । अलोकतान्त्रवादीहरुले सरकार चलाइरहेकाले लोकतन्त्र संकटमा पार्न खोजिएको बताए । तर नेपाली कांग्रेस रहदा सम्म लोकतान्त्रलाई संकटमा पार्न नदिने समेत वरिष्ठ नेता पौडेलले दाबी गरे । वरिष्ठ नेता पौडेलले राजाको निर्दलिय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युष्टिहरुले पुल बनाउँदा करङ्ग भाँचिदिएको गुनासो गरे । उनले राजा र कम्युनिष्ट एक सिक्काका दुईपाटा भएको टिप्पणी समेत गरे ।