१ पुष, दैलेख।
द्वन्द्वकालमा मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई दैलेख प्रहरीले प्रक्राउ गरेको छ।
थापाको हत्यामा सलंग्न ठहर भएका जिल्लाको नौमुले गाउँपालिका–३ द्धारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो। कर्तब्य ज्यान मुद्धामा २०७१ साल मंसिर २१ गते जिल्ला अदालत दैलेखबाट फैसला भई २ वर्ष कैद भुक्तानका लागि फैसला भएको थियो।
फरार पुनलाई ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत दैलेखमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पछि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए। उनलाई अदालतले दुई वर्ष कैद तोकेको थियो। पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरी सकेका छन्।
पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरेका र बन्दीप्रत्यक्षीकरण परेका कारण अदालतको फैसला ढिला आएपछि उनि फरार रहेका थिए। प्रक्राउ परेका पुनले ४ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
माओवादीद्वारा हत्या गरीएका पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिए पछि तत्कालिन अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। अन्य ४ जनाले भने जिल्ला अदालत दैलेखबाट भएको फैसला अनुसार कैद भुक्तान गरी सकेका छन्।
तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरुको खानेपानी समस्या समाधानका लागि पहल गर्न नौमुलेको द्धारी पुगेका थापालाई तत्कालीन माओवादीका कार्यकर्ताले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर राखेका थिए।
निर्मम तरिकामा हत्याको सिकार बनेको पत्रकार थापाको शव २०६१ साउन २७ गते नौमुलेको द्धारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।
तिनजना अझै फरार
पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै अदालतबाट दोषी ठहर भएका तिन जना अझै फरार रहेका छन्।
तत्कालिन अवस्थामा चार जना प्रक्राउ परी कैद भुक्तान गरि सकेका छन भने एक जनालाई प्रहरीले एक वर्ष अघि प्रक्राउ गरि कारागार चलान गरेको थियो।
नौ जना अभियक्त मध्ये तत्कालै मात्र नौमुले गाउँपालिका–३ द्धारीका हरिलाल पुन सहित ६ जनालाई कानुनी दायरामा ल्याएको भए पनि तिन जना अझै फरार रहेका हुन्। फरार तिन जनालाई पनि छिटै कानुनी दायरामा ल्याउन दैलेखका पत्रकारहरुले माग गर्दै आएका छन्।
यस्तै, दैलेखका पत्रकारहरुले ढिलो गरी माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न अभियुक्त प्रक्राउ पर्ने क्रम जारी रहेको भन्दै न्याय पाउँने आशा नमरेको बताएका छन्।
पत्रकार महासंघ दैलेखका पुर्व अध्यक्ष विष्णु शर्माले फरार रहेका तिन जनालाई राज्यले तत्काल प्रक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने बताए।