जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने कानुनको प्रस्ताव

जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने कानुनको प्रस्ताव

२ पुष, काठमाडौं । सरकारले नागरिकलाई विदेश जान रोक लगाउन सक्ने गरी कानुनको प्रस्ताव गरेको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धी विधेयकमा सरकारले जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने व्यवस्था राखिएको छ । बिहीबार समितिको छलफलमा गृह मन्त्रालयले पेश गरेको विधेयकको प्रतिवेदनमा सरकारले नचाहेका व्यक्ति विदेश जान नपाउने व्यवस्थालाई निरन्तरता दिइएको छ । समितिमा प्रस्तुत विधेयकको प्रतिवेदनको बुँदा नम्बर ९ को (२) मा नेपाली नागरिकलाई विदेश प्रस्थान गर्न रोक लगाउन सकिनेसम्बन्धी व्यवस्था छ । जहाँ अदालतले आदेश गरेकोमा, आर्थिक वा वित्तीयसम्बन्धी कसूर, राहदानी वा अध्यागमन सम्बन्धी कसूर गरेको, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसार प्रसार वा अपहरणको कसूरमा अनुसन्धानको सिलसिलामा रहेकालाई कानुन बमोजिम अधिकार प्राप्त अधिकारीले विदेश प्रस्थानमा रोक लगाउन सक्ने उल्लेख छ । यसैगरी, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर नकारात्मक प्रभाव पार्ने पर्याप्त र विश्वसनीय प्रमाण भएमा त्यस्तालाई विदेश जानबाट रोक लगाउन सकिने भनिएको छ । प्रस्तवित व्यवस्थामा अध्यागमन विभाग वा कार्यालयले नै व्यक्तिलाई विदेश प्रस्थानमा रोक लगाउन सक्ने उल्लेख छ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले भने यो व्यवस्थाको दुरुपयोग हुन सक्ने भन्दै विरोध जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.