३ पौष, काठमाडौं । संसदको अर्थ समितिको बैठकमा उद्योगी व्यवसायीहरुले कोभिडको प्रभावका कारण व्यवसायीक निरन्तरतामा कठिनाई भएको बताएका छन् ।
सरकारले राहतका प्याकेजहरु घोषणा गरेपनि ढिलोगरी कार्यान्वयनमा आउँदा व्यवसायीक निरन्तरता दिन नसकिएको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समयमा नै व्यवसाय सूचारु गर्न नसक्दा कर्मचारीको तलब, बैंकको ब्याज र घरभाडा तिर्न अहिलेसम्म पनि समस्या भइराखेको बताए ।
यस्तै सरकारले उद्यमी व्यवसायी र कृषकलाई लक्षित गरी घोषणा गरेका कार्यक्रम अझै कार्यान्वयनमा आउन नसक्दा समस्या यथावत रहेको बताए ।
यस्तै पुनरकर्जा कोषको रकम र अवधि बढाउनुपर्ने, साना तथा मझौला उद्योग व्यवसायले सहजै पुनरकर्जा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन माग गरे ।
कृषिलाई उद्योगसँग जोड्ने, विचौलियालाई हटाउने र साना उद्योग व्यवसायको व्यवसायिक निरन्तरता कर्जा उपलब्ध गराउने र नयाँ व्यवसायलाई प्राथमिकतामा जोड दिएमा १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव भएको पनि अध्यक्ष गोल्छाले बताए ।
महासंघका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठले ऐन नियम बनाउने, नियमन गर्ने र कार्यान्वयन गर्ने निकायको फरकफरक सोच हुँदा व्यवसायीक वातावरणमा असर परेको बताए । व्यवसायीक नीतिगत स्पस्टता र निरन्तरता भएमात्रै निजी क्षेत्र प्रोत्साहित हुने पनि उपाध्यक्ष श्रेष्ठले बताए ।
उद्योगी व्यवसायीहरुले कोभिड पछि कतिपय उद्योग व्यवसाय बन्द भइसकेको र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सरकारले छिटो भन्दा छिटो राहत दिनुपर्ने बताएका छन् । सरकारले घोषणा गरेका प्याकेजको ढिलो कार्यान्वयन हुँदा उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताएका छन् ।