३ पौष, काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले कोरोना बिरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क लगाउने सरकारको तयारी रहेको बताएका छन् ।
अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघको प्रतिनिधि मण्डल सँगको भेटमा मन्त्री पौडेलले कोरोनाको उपचार जस्तै भ्याक्सिन पनि नेपाली जनतालाई निःशुल्क लगाउने सरकारको तयारी रहेको बताएका हुन् ।
विश्व बजारमा भ्याक्सिन आउनासाथ नेपाल सरकारले किन्ने गरि सरकारले उत्पादक देश र कम्पनीहरुसँग सम्बाद गरिरहेको पनि मन्त्री पौडेलले बताए ।
बजारमा उपलब्ध हुने भ्याक्सिनहरुमा कम लागत पर्ने र गुणस्तरीय हुनुपर्ने सरकारले मापदण्ड बनाएको पनि मन्त्री पौडेलले बताए । सरकारले सबै नागरिकलाई भ्याक्सिन लगाउने तयारी गरे पनि १४ वर्ष मुनिका उमेर समूहलाई भने नलगाउने पनि मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले भ्याक्सिन खरिद गर्न सरकारसँग आर्थिक आभाव भएको भनेर मिडियाहरुमा आएको समाचार गलत भएको बताए । सरकारसँग आर्थिक स्रोतको कुनै कमि नरहेको मन्त्री पौडेलले दावी गरे ।
अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।