नेकपा विभाजन हुँदैनः मन्त्री गुरुङ

नेकपा विभाजन हुँदैनः मन्त्री गुरुङ

४ पुस, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् ।

नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताएका हुन् ।

‘पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनौँ,’ मन्त्री गुरुङले भने, ‘मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरूले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ ।’

उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे । बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उनको इमान्दारिताबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए ।

यसैबीच सञ्चारमन्त्री गुरुङले आज बिहान भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको शिलान्यास गरेका छन् । साथै, मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाले तयार पारेको ‘भीमेश्वर नगर बृहत योजना’ को समेत विमोचन गरे ।

तीन दिने भ्रमणका क्रममा गृहजिल्ला पुगेका मन्त्री गुरुङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन समेत गर्ने कार्यक्रम छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.