पछिल्लो राजनीतिक घटनाक्रमपछि कांग्रेस रणनीति बनाउन जुट्यो

पछिल्लो राजनीतिक घटनाक्रमपछि कांग्रेस रणनीति बनाउन जुट्यो

७ पुष, ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारदेखि सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थिति र आगामी रणनीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको हो । बैठक सुरु भएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले यस अघि नै पदाधिकारी बैठकबाट निर्णय गरी प्रधानमन्त्री ओलीले चाल्नु भएको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरिसकेको र थप धारणा निर्माण गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बसेको बताए । उनले भने ‘संसद पुनरस्थापनाको सन्दर्भमा कुन प्रकारको धारणा राख्दछ, या निर्वाचनको सन्दर्भमा त्यसलाई कति सुनिश्चित ठान्दछौं, कति उपयुक्त ठान्दछौं यसलाई संवैधानिक रुपमा कानूनी रुपमा चुनौति दिनुुपर्ने विषयमा कसरी पुग्दछौं, राजनैतिक रुपमा प्रतिवाद गर्ने सन्दर्भमा हामीले के गर्दछौं यी सबै विषयमा गम्भिरतापूर्वक छलफल प्रारम्भ भएको छ ।’
कांग्रेसले प्रधानमन्त्री ओलीले चाल्नु भएको कदमलाई असंवैधानिक भनिसकेको र प्रधानमन्त्री ओलीमा उत्पन्न भएकोको अधिनायक आकांक्षाको प्रतिरुप भएको पनि प्रवक्ता शर्माले बताए । उनले भने ‘प्रधानमन्त्रीले जे कदम चाल्नु भयो यो असंवैधानिक छ । यो अधिनायक आकांक्षको एउटा प्रतिरुप हो । सर्वसत्तावाद तर्फ जाने प्रयत्न हो । संविधानमा भएको व्यवस्था भन्दा बाहिर गएको अवस्था छ । नेपाली कांग्रेस पार्टीले यो बेलामा जिम्मेवार भूमिकाको रुपमा हामीले कदम गर्नुछ ।’

प्रधानमन्त्री ओलीको कदमले स्थिरताको सन्दर्भमा संविधानमा गरिएको व्यवस्थालाई ध्वस्त पारेको पनि प्रवक्ता शर्माले बताए । संविधानले निर्दिष्ट गरेको प्रक्रिया भन्दा बहिर गएर प्रतिनिधिसभा विघटन गर्नपाउने अधिकार प्रधानमन्त्रीसँग नरहेको पनि बताए । उनले भने ‘स्थिरताको सन्दर्भमा जे बन्दोबस्त गरिएको थियो त्यो बन्दोबस्तलाई पनि ध्वस्त गर्दै संविधानले निर्दिष्ट गरेको प्रक्रिया भन्दा बाहिर गएर संविधानले संसद विघटन गर्न पाउने, प्रतिनिधि सभा विघटन गर्न पाउने, प्रधानमन्त्रीलाई नदिएको अधिकार प्रयोग गरेर विगतमा सरकारहरु अस्थिर हुँदैगर्दा आगामी दिनमा संसद अस्थिर नहोस, सरकार अस्थिर नहोस भनेर जे जस्तो बन्दोबस्न संविधानमा गरिएको थियो त्यो सबैलाई उलङ्घन गरेर यो प्रकारको कदम चालिएपछाडी आफ्नो घरेलु पार्टी भित्रको द्वन्द्वका कारणले देशको संसदलाई विघटन गर्ने कदम चालेपछाडि आफ्नो घरेलु द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर मुलुकको राजनीतिलाई अध्यारो सुरुङतर्फ धकेल्ने प्रयत्न गरेपछाडि, केरोनाको बेलामा मान्छे मरिरहेको बेलामा सेतो कात्रो ओडेर नागरिकहरु कैयौं गाउँमा बसिरहेको बेलामा रातो झण्डा फहराएर भोट माग्न जाने आकांक्षा प्रधानमन्त्रीमा जाग्रित भएपछाडि नेपाली कांग्रेसले केवल निर्वाचनलाई मात्रै हेर्ने होइन एउटा जिम्मेवार राजनीतिक दलको रुपमा मुलतः पहिलो कुरा दलगत लाभ भन्दापनि देशको लाभ कहाँ छ, संविधानको हित कहाँ छ, हामी कुन ठाउँमा कसरी उभिदै गर्दा यो देशको संविधान लोकतान्त्रिक गणतन्त्र संघिय लोकतान्त्रिक गणतन्त्र संरक्षित, सुरक्षित हुन सक्दछ भन्ने राष्ट्रिय अधिकार निर्वाह गर्ने क्रममा नेपाली कांग्रेस पार्टी छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.