राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्‍छीको भेट

राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्‍छीको भेट

८ पुस, काठमाडौं ।
चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।

सत्तारुढ नेकपा भित्रको विवादले निम्तिएको पछिल्लो राजनीतिक घटनाक्रमको तेस्रो दिन चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । उनले मंगलबार साँझ शितलनिवास पुगेर भेट गरेकी हुन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन । यस अगाडि चीनले नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिएको थियो ।

राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले भने यान्छीले राष्ट्रपतिसँग भेटेको जानकारी दिए । यो सामान्य भेटघाट रहेको बताए । ‘पहिलेदेखि नै भेटघाटका लागि समय मागेको झै लाग्छ । राजनीतिक घटना क्रमभन्दा पनि स्वास्थ्य वा अन्य कुनै विषयबारे छलफल हुनसक्छ,’ यादवले भने ।

नेपालमा विकसित भएको राजनीतिक घटनाक्रमसँगै सत्तारुढ नेकपा विभाजनको अवस्थामा उनले राष्ट्रपतिसँग लामो भेटघाट गरेकी हुन् । उनी राष्ट्रपतिलाई अधिक भेट्ने राजदूत मध्येकी हुन् । उनले कोभिड–१९को भ्याक्सिनबारे जानकारी गराउन राष्ट्रपतिकोमा गएको जनाए पनि भेटलाई राजनीतिक भेटको रूपमा लिइएको छ ।

उनले एक सातादेखि भेट मागेको र बल्ल भेट जुरेको दूतावास स्रोतले बतायो । सत्तारुढ नेकपामा विवाद बढ्दा निकै सक्रिय रहने यान्छी यसपटक खासै देखिएकी थिइनन । तर, अहिले उनी एकएक भेटमा रहेकी छन् । उनले अन्य नेता तथा मन्त्रीहरूसँग पनि भेटवार्ता गर्ने लामो सूची तय भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.