कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षका केन्द्रीय सदस्यको अनामनगरमा छुट्टै भेला

कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षका केन्द्रीय सदस्यको अनामनगरमा छुट्टै भेला

९ पौष, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका छन् ।

आज मध्यान्ह पौडेलले अनामनगरमा आफू पक्षका केन्द्रीय सदस्यको भेला गरेका छन्।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पौडेलले भेला गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा पौडेलले तत्काल पार्टी आन्दोलनमा जानुपर्ने धारणा राख्दै आएका छन्।

यसबारे बुधबार केन्द्रीय समितिमा केही विवादसमेत भएको थियो।

पौडेलले पार्टी आन्दोलनमा जानुपर्ने धारणा राखे पनि सभापति शेरबहादुर देउवा र उनी पक्षका केन्द्रीय सदस्य केही दिन पर्खेर आन्दोलनमा जाने मनस्थितिमा छन्।

ओलीको कदमबारे सर्वोच्चमा रिट परेकोले आदेश आएपछि मात्रै आन्दोलनमा जाने देउवा पक्षको तयारी छ।

तर पौडेलले संविधानविपरीत हुने गरी प्रधानमन्त्री ओलीले कदम चालेकोले त्यसको विरोधमा ढिला गर्न नहुने बताउँदै आएका छन्।

‘वरिष्ठ नेताले आफू पक्षका साथीहरूलाई भेलामा बोलाउनु भएको हो। अहिले भेला जारी छ,’ स्रोतले बताएको छ ।

बुधबारको बैठकमा पौडेलले आन्दोलनका कार्यक्रम घोषणाको माग गर्दा केन्द्रीय सदस्य शंकर भण्डारीले अहिले आन्दोलनमा जान नसकिने भन्दै विरोध गरेका थिए।

यसबारे खबर बाहिर आएपछि भण्डारीले अदालतको निर्णय कुर्नुपर्ने आफूले बताएको उल्लेख गरेका छन्।

‘हिजोको बैठकमा संसद विघटनका विषयमा अदालतको निर्णय कुर्नुपर्ने र केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिनुपर्छ भन्ने मेरो भनाइ थियो,’ उनले भनेका छन्।

बुधबार केन्द्रीय सदस्य बलबहादुर केसी बोल्ने क्रममा सभापति र वरिष्ठ नेताबीच पनि घोचपेच भएको थियो।

आज पौडेलले बोलाएको भेलामा पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि छन्। यस्तै केन्द्रीय सदस्य गगन थापा पनि भेलामा पुगेका छन्।

आन्दोलनमा जान सभापति देउवालाई दवाव दिन पौडेलले भेला बोलाएको एक केन्द्रीय सदस्यले बताए। कांग्रेसले सम्भवत आजको केन्द्रीय समितिबाट आन्दोलनका कार्यक्रम तय गर्दैछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.