९ पौष, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधिसभाको बैठक आह्वान गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख सापकोटाको कार्यकक्षामा भेट गर्दै जसपा नेताहरु बाबुराम भट्टराई,उपेन्द्र यादव र लक्षमणलाल कर्णले बैठक बोलाउन आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै उनीहरुले संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न आग्रह गरेका थिए ।
यसैबीच जसपाले संसद् विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी सुरु गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति तयार गर्न बिहीबार बैठक बसेको जसपाका नेता केशव झाले बताए । बैठकमा आन्दोलनको तयारी सम्बन्धमा छलफल भएको नेता झाले बताए ।
जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।