१२ पुस, काठमाडाैँ ।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताएका छन् । जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सरकारको असंवैधानिक कदम विरुद्ध सर्वोच्च अदालतको आदेश आउनेमा भर पर्न नहुने बताएका हुन् ।
अदालत सारतत्वमा नजाने टिप्पणी गर्दै डा. भट्टराईले अदालतको ढाँचा परम्परावादी र प्रक्रियामुखि भएकोले अदालत सँग झिनो आशा भएपनि न्यायको पक्षमा फैसला हुनेमा ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।

अध्यक्ष भट्टराईले असंवैधानिक कदमका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाईरहेको समेत बताए । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिगमन चाहेको उल्लेख गर्दै उनले संसदमाथिको प्रहारमा मात्रै प्रधानमन्त्रीको कदम नरोकिने बताए । डा. भट्टराईले देश अक्कडमा फसेको भन्दै सहजनिकास गाह्रो भएको बताए । उनले जनताको निहित सार्वभौंम सत्ता प्रयोग गरेर सभामुखले संसद बोलाउनुपर्ने बताए ।

यस्तै जसपा नेता राजेन्द्र महतोले सरकारले पटक पटक प्रतिगमन गरेको टिप्पणी गरे । अहिलेको प्रतिगमन केवल कुर्चीको लागि भएको उनको भनाई छ । उनले प्रतिगमन नटिक्ने भन्दै जनताको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न चेतावनी दिए ।
विरोध सभामा संघीय परिषदअध्यक्ष डा. भट्टराई, नेता राजेन्द्र महतो, अशोक राई लगायतको उपस्थिति रहेको थियो । जसपाले संसद विघटनको बिरोधमा विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।
