काठमाडौँ–तराई/मधेस द्रुत मार्ग : सुरुङ खण्डका लागि दुई कम्पनी छनोट

काठमाडौँ–तराई/मधेस द्रुत मार्ग : सुरुङ खण्डका लागि दुई कम्पनी छनोट

काठमाडौँ: काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिनुभयो । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका हुन् । दु्रतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ ।

दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ । ‘‘छनोट हुने कम्पनीले ट्विन डबल लेन मापदण्ड (स्ट्यान्डर्ड) को सुरुङमार्ग, ‘हाई ब्रिज’ र हाई ब्रिजसँगैका केही भाग द्रुतमार्गको समतल भागसमेत निर्माण गर्ने छन्,’’ उहाँले भन्नुभयो ।

सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रि–क्वालिफिकेसन’को बोलपत्र आह्वानपछि सुरुङमार्ग निर्माणका लागि पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजमा २२ गरी ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएको थियो । ती कम्पनीमध्ये दुई चिनियाँ निर्माण कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत हुन सफल भएका छन् ।

बोलपत्र पेस गरेका ४३ अन्तर्राष्ट्रिय कम्पनीमध्ये दुईवटा चिनियाँ कम्पनीले मात्र मापदण्ड पूरा गर्न सकेकाले ती कम्पनी सूचीकृत भएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पार्नुभयो । त्यसअघि ४३ कम्पनीमध्ये १५ वटा कम्पनीले पहिलो र दोस्रो चरणको सुरुङ निर्माणका लागि बोलपत्र पेस गरेका थिए । सुरुङमार्ग निर्माण गर्न दुई खण्डमा ‘प्रि–क्वालिफिकेसन’ का लागि ३० फागुन २०७६ मा बोलपत्र आह्वान गरिएको थियो ।

सङ्क्षिप्त सूचीमा सूचीकृत चिनियाँ कम्पनीलाई डिजाइनसहितको ‘बिड डकुमेन्ट’ दिइने र त्यसपछि ती कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेस गर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘मूल्याङ्कनमा आर्थिक र प्राविधिक प्रस्तावले सुरुङमार्ग निर्माणका लागि उपयुक्त देखिएपछि यी कम्पनी छनोट हुनेछन् र तिनीहरूलाई आशयपत्र दिई सम्झौता भई सुरुङमार्ग निर्माणको काम सुरु हुने छन् ।’’

अहिले अन्तर्राष्ट्रिय परामर्शदाताद्वारा ‘बिड डकुमेन्ट’ निर्माण कार्य भइरहेको बताउँदै उहाँले सूचीकृत भएका कम्पनीलाई बोलपत्र दिएको ४५ दिनभित्र ती कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेस गरिसक्नुपर्ने स्पष्ट पार्नुभयो । कम्पनी छनोटको सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी वर्षको वैशाखदेखि सुरुङमार्ग निर्माणको काम सुरु हुने सैनिक प्रवक्ता पौडेलले बताउनुभयो ।

दुई लेन स्ट्यान्डर्डको एक्सप्रेस वे हुने यो सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलबाट गर्न लागिएको हो । त्यस परियोजनाको योजना, डिजाइन, इन्जिनियरिङ, निर्माण र सञ्चालनको काम निर्माण कम्पनी आफैँले गर्नुपर्नेछ ।

पहिलो चरणमा छोक्रेडाँडादेखि महादेव खोल्सीसम्मको तीन किलोमिटरको सुरुङमार्ग निर्माण गरिने छ भने दोस्रो चरणमा धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म एक किलोमिटर ३७० मिटरको तथा लेलडाँडामा बन्ने सुरुङ घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म एक किलोमिटर चार सय मिटरको सुरुङमार्ग निर्माण गरिनेछ । कुल छ किलोमिटर ४१५ मिटरको तीनवटै सुरुङ मकवानपुरमा पर्नेछन् ।

मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो द्रुतमार्गको ५३ किलोमिटर सडकखण्ड मकवानपुर, चार किलोमिटर काठमाडौँ, सात किलोमिटर नौ सय मिटर ललितपुर र सात किलोमिटर छ सय मिटर बारामा पर्नेछ । एसियाली राजमार्ग डिजाइन मापदण्डअनुसार निर्माण भइरहेको यो द्रुतमार्गको कुल लम्बाइ ७२ दशमलव पाँच किलोमिटर हुनेछ ।, याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.