देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैनः रामचन्द्र पौडेल

देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैनः रामचन्द्र पौडेल

१३ पुस, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अफगानिस्तान जस्तै बनाउनबाट अब सर्वोच्च अदालतले मात्र बचाउन सक्ने दावी गरेका छन्।

सोमवार तनहुँमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देश विघटन हुनबाट अदालतलेमात्र बचाउन सक्ने बताएका हुन्।  पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था आउन सक्ने बताए । उनले भने, ‘यो देशलाई अफगानिस्तान त बनाउन खोजिँदै छैन ?’

त्यसलाई रोक्न अझै एउटा विकल्प अदालत रहेको पौडेलले बताए । उनले भने, ‘सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई एउटै अनुरोध गर्न चाहन्छु, संविधानलाई राम्रोसँग पढिदिनुस् । संविधानको अक्षर, भावना र विधिदाताको मनसाय बुझ्नुस् ।’

संविधानको अक्षरमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्ने व्यवस्था नै नगरेको उनले बताए । भावना पनि संविधानले अस्थिरता नआओस् भन्ने कल्पना गरेको भन्दै उनले अघि भने, विधि दाता भनेको हामी हौं, संविधान हामीले बनाएका हौं ।

किन यस्तो संविधान बनायौं भन्दा पटकपटक संंसद भंग हुँदा राजनीतिक अस्थिरता भयो, नेपालले दुःख पायो । अब त्यता नलैजान र राजनीतिक स्थिरता होस् ।’

चुनाव हुँदा त आफूहरुलाई क्षणिक फाइदा हुने तर संसद विघटनले वैधता पाउँदा संविधान र लोकतन्त्र नै जाने भएकाले विरोधमा उत्रिएको नेता पौडेलले बताए ।

उनले संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्ति सिफारिसको विरोध गरे । आफूले गरेका अपराध, भ्रष्टाचार छिपाउन लुकीचोरी गरेर आयोगहरु बनाएको र संसदले अस्वीकार गर्ने भएपछि त्यसलाई नै भंग गरेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.