१३ पुस, विराटनगर।
प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्ना कार्यकालका उपलब्धिहरु सार्वजनिक गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गरेका हुन् ।
मन्त्रालयमा पदभार ग्रहण गर्दा १० बर्षभित्रमा झोला र किताव विस्थापित गरि डिजिटल सिकाई प्रणाली स्थापित गरिसक्ने लक्ष्यलाई पूरा गर्ने क्रममा १ हजार ३१६ बटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरि सूचना प्रविधिको पहुँच पु¥याएको उनले बताए । ई–एजुकेशन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा निर्माण, आमा समूह र पूर्व विद्यार्थी समाज गठन र परिचालन गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।
प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरी संगठन संरचना र सो अनुरूपको नेतृत्व, प्रशासनिक जनशक्ति परिपूर्ति गर्ने तथा प्राविधिक विषयका स्नातक र स्नातकोत्तर तहका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको निवर्तमान मन्त्री घिमिरेले बताए । प्रदेशभर सञ्चालित प्रयोगशालाहरुको गुणस्तर नियन्त्रण तथा सञ्चालन अनुमति प्रदान गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको , याङ्गशिला, उदयपुर र विराटनगरमा सर्पदंश उपचार केन्द्र स्थापनाका साथै इटहरी, बेलका नगरपालिका, थलाहा ब्यारेक र चारआली ब्यारेकमा सर्पदंश उपचार केन्द्र स्थापना र स्तरोन्नति गरिएको उनले बताए ।
कोभिड नियन्त्रणका लागि थ्रिटिको नीति अबलम्वन गरि (टे«सिङ, टेष्टिङ र ट्रिटमेन्ट) को यथोचित प्रवन्ध गरिनुका साथै कोभिड–१९ महामारीसँगको चिकित्सकीय युद्धमा अग्रपंक्तिमा खडा भई आफ्नो जोखिम व्यवस्थापन गर्दै अहोरात्र सेवा प्रदान गरी महामारीबाट जनतालाई सुरक्षित राख्ने तथा संक्रमितहरुलाई उपचार गरी निको बनाउने कार्यमा उत्कृष्ट सेवा प्रवाह निवर्तमान सामाजिक विकास मन्त्री घिमिरेको भनाई छ ।
नेपालमै छुट्टै कोभिड अस्पतालको अवधारणा ल्याई अक्सीजन, आइ.सि.यु. तथा भेन्टिलेटर सेवा सहित २ सय वेडको अस्पताल स्थापना र सञ्चालन गराएको पत्रकार सम्मेलनमा उनले बताउए । मोरङ्गको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम, मानवसेवा आश्रम र बाल ज्ञान केन्द्र निर्माणका लागि ११ बिघा जग्गा प्राप्त गरिएको र निर्माण प्रक्रिया अगाडि बढेको मानवसेवा आश्रमको भवन सिलन्यास गरी निर्माण शुरु गरिएको उनले बताए।
सन् २०२५ सम्म प्रदेश नं.१ लाई बाल विवाहमुक्त प्रदेश बनाउन “सानै छु अहिले बढ्नु छ मैले, बालविवाह होइन पढ्नु छ पहिले” प्रादेशिक नारा तय गरी बालविवाह सम्बन्धी प्रादेशिक नीति तर्जुमा गर्न समिति गठन गरिएको, अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय साझेदारीमा पहिलो चरणमा २७ वटा स्थानीय तहमा यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको, शहीद रंगशाला विराटनगरमा रात्रीकालीन समयमा पनि खेलकुद आयोजना गर्न सकिने हेतुले फ्लडलाइट जडान सम्पन्न गरिएको प्रगति उनले सार्वजनिक गरे ।
श्रमिक समूहमा रोजगारी सिर्जना गर्न स्कीम बैंक कार्यक्रम लागू गरिएको , भाषा, कला, साहित्यमा लामो योगदान गरेका २६ जना विशिष्ट स्रष्टाहरुलाई पुरष्कृत एवं सम्मानित गरिएको, प्रदेशको ललितकला संरक्षण र संवद्र्धनका लागि कार्यदल गठन गरी गुरुयोजना तर्जुमा गर्न लगाइएको उनले बताए ।
प्रदेश सरकारको अढाई बर्षे कार्यकालको मूल्यांकनका लागि प्रदेश १ योजना आयोगले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनमा समेत प्रदेश सरकारका सवै मन्त्रालय र निकायहरु मध्ये सामाजिक विकास मन्त्रालय उत्कृष्ट घोषित भएको उनले उल्लेख गरे । पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालय अन्तर्गत समग्र क्षेत्रको मध्यावधि (गत असार मसान्त सम्मको) औसत वित्तीय प्रगति ७१.७७ र समग्र उपलव्धि ७१.८४ प्रतिशत रहेको बताए ।