कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै

कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै

१६ पुस, काठमाडौं ।
नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (वीपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रूपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले बिहीबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरि ४५ औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिका मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता वीपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता वीपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।

यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

त्यसपछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा जानुभएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि ८ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक वीपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बताए । वीपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग गरेको छ । नेपालमा वीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ ।

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४४ वर्षअघि अबलम्वन गरेको नीति मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा झन सान्दर्भिक बनेको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेखेका थिए । बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.