१६ पुस, काठमाडाैँ ।
दाङकाे लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेटमा गण्डकी प्रदेश १ विरुद्ध ७ रनमा अल आउट भएको छ ।गण्डकी प्रदेश १ सँग १ सय ४० रनको फराकिलो अन्तरले पराजित भएको हाे।
योसँगै प्रदेश १ समूह बी बाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । देउखुरी क्रिकेट मैदानमा भएकाे खेलमा जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ अल आउट भएको थियो । गण्डकीका ९ खेलाडी शून्यमा आउट भए । कुसुम गोदर र सोनिया थापाले २–२ रन बनाए । अन्य कुनैपनि ब्याटरले रन बनाउन सकेनन् । गण्डकीले बनाएको ७ मध्य तीन वाइडको रुपमा थियो ।
पहिलो ओभरको दोस्रो बलमा ओपनर पुर्णता शाहीलाई सबनम राईले शून्यमा बोल्ड आउट गरिन् । पाँचौ बलमा प्रमिला बानिया शून्यमा बोल्ड आउट भइन् । अर्को बलमा सृष्टि पौडेललाई शून्यमै एलबिडब्लू आउट गरिन् । पहिलो ओभरमै कर्णाली २–३ को कमजोर अवस्थामा पुगेको थियो । जोडेको दुबै रन वाइडको रुपमा थियो ।

दोस्रो ओभरको दोस्रो बलमा संगिता राईले कप्तान शीला रेग्मी क्षेत्रीलाई शून्यमै बोल्ड आउट भइन् । पाँचौ बलमा एलिसा लामिछाने शून्यमा एलबिडब्लू आउट भइन् । तेस्रो ओभरको दोस्रो बलमा सबनमले सीमा केसीलाई बोल्ड आउट गर्दा गण्डकी २–६ को कमजोर अवस्थामा पुगेको थियो । शीर्षक्रमका कुनैपनि ब्याटरले रन जोड्न सकेनन् ।
चौथो ओभरको चौथो बलमा संगिताले सृष्टि पौडेललाई शून्यमै बोल्ड आउट गरेकी थिइन् । तल्लोक्रमका ब्याटर पनि शून्यमै आउट हुन पुगे । तीव्र गतिका बलर सबनम राईले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ४ विकेट लिइन् । स्पिनर संगिता राईले ४ ओभरमा २ मेडन सहित ३ रन खर्चेर ५ विकेट लिइन् । अप्सरी बेगमको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ४७ रन बनाए । विकेटकिपर काजल श्रेष्ठ ५७ बलमा ४ चौका सहित ५२ रनमा अविजित रहिन् । काजलले अन्तिम ओभरको चौथो बलमा अन्जली विश्वकर्मालाई लङअफमा चौका प्रहार गर्दै ५६ बलमा अर्ध शतक पूरा गरेकी थिइन् ।
रोमा थापा ४९ बल खेल्दै ८ चौका सहित ५१ रनमा अविजित रहिन् । रोमाले ४६ बलमा अर्ध शतक प्रहार गरेकी थिइन् । १९ औं ओभरको तेस्रो बलमा कप्तान शीला रेग्मी क्षेत्रीलाई चौका प्रहार गर्दै यस प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गरेकी थिइन् ।

दोस्रो विकेटका लागि रोमा थापा र काजल श्रेष्ठले १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए । जुन यस प्रतियोगिताको कुनैपनि विकेटलाई भएको सवार्धिक ठूलो साझेदारी पर्दछ । कप्तान रुविना बेलबासे क्षेत्रीलाई सातौं ओभरको चौथो बलमा कुसुम गोदरले कप्तान शीला रेग्मी क्षेत्रीबाट १५ रनमा क्याच आउट भइन् । रुविनाले १७ बलमा ३ चौका प्रहार गरिन् । गण्डकीले ७ बलर प्रयोग गरेको थियो ।