राष्ट्रिय सभा बैठकको कार्यसूचीः राष्ट्रपति, मन्त्रिपरिषद् पुनर्गठन पत्र पढिने

राष्ट्रिय सभा बैठकको कार्यसूचीः राष्ट्रपति, मन्त्रिपरिषद् पुनर्गठन पत्र पढिने

१६ पुस, काठमाडाैँ ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।

बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रिय सभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाईनेछ । त्यस्तै राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेश हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन,सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी(तेस्रो संशोधन) अध्यादेश २०७७ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्यद्धय सानु सिवा र सूर्यबहादुर के.सी., प्रतिनिधिका पूर्व सदस्य ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका पूर्व सदस्यद्धय दिपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधनमा राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.