१६ पुस, काठमाडौं ।
सामाजिक सञ्जालमा सांसद महेश बस्नेतलाई गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस कार्यकर्ता समेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसले निष्कर्ष निकालेको हो ।
कांग्रेस निकट चन्दलाई नेपालगञ्जबाट गिरफ्तार गरिएको थियो। बस्नेतविरुद्ध स्टाटस लेखेकै आधारमा चन्दलाई पक्राउ गरी काठमाडौँ ल्याइएको हो। सरकारका गलत कदमको विरोध गर्दा चन्द पक्राउ परेको कांग्रेसले दाबी गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाव दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन् । त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ ।’
कानुनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण भएको कांग्रेसको ठहर छ । चन्दको पक्राउ निन्दनीय रहेको उल्लेख गर्दै शर्माले रिहाइको माग गरेका छन्।