१८ पुस, पर्सा ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–हेटौँडा खण्डमा गाडीको ठक्करबाट दुर्लभ मानिने पाटे माघको मृत्यु भएको छ ।
शनिबार बिहान साढे सात बजे हेटौँडाबाट निजगढतिर जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी १० वर्षको पोथि बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए ।
जितपुर सिमरा उपमहानगरपालिका– २१ (पथलैयाबाट २ किलोमिटर उत्तर) मा बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि बाघ सडकमा बजारिएको थियो । बाघको टाउकोमा गम्भीर चोट देखिन्छ ।
दुर्घटनामा मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । राष्ट्रिय निकुञ्जअन्तर्गत सडकमा वन्यजन्तु आउजाउ गरिरहने भएकाले सरकारले ‘सचेतना अभियान’ चलाउँदै आएको छ । ठाउँठाउँमा लेखिएका छन्, ‘सावधान, जनावरहरू बाटो काट्दैछन् ।’
तर पनि मानवीय असावधानीका कारण जनावरहरूमाथि दुर्घटना हुने गरेको छ । ‘होइन, वन्यजन्तु रहने र सडक काट्ने क्षेत्रमा, अझ जानकारीका लागि त्यत्रा होर्डिङ बोर्ड राखेको देख्दादेख्दै पनि किन मानिसहरूले सवारीसाधन तीव्र गतिमा चलाउँछन् के ? एकैछिन गन्तव्यमा पुग्न ढिलो भएर के भयो त ? यस्तो दुर्घटना त घट्दैन थियो होला नि ?’, प्रत्यक्षदर्शी संयक चौलागाईंले प्रश्न गरे ।
पाटे बाघको पोथि प्रजाति अत्यन्तै दुर्लभ मानिन्छ । नेपालमा पोथि बाघको संख्या न्यून छ । प्राकृतिक वासस्थानमा रहेका पाटे बाघको सरदर आयु १६ वर्ष मात्रै हो ।
प्रहरीले गाडीधनी अजयकुमार मिश्रलाई नियन्त्रणमा लिएको छ । मिश्रमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०१९ आकर्षित हुने सूचना अधिकारी यादवले बताए । यस ऐनअनुसार निकुञ्जले पाँचदेखि १५ वर्ष कैद र पाँचदेखि १० लाखसम्म जरिवाना मागदाबी गर्नेछ ।