अदालतले असली ‘चार्ली च्याप्लिन’ पत्ता लगाउँछ : प्रधानमन्त्री ओली

अदालतले असली ‘चार्ली च्याप्लिन’ पत्ता लगाउँछ : प्रधानमन्त्री ओली

१८ पुस, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीकता अदालतबाट आफैंलाई प्राप्त हुने बताएका छन् । काठमाडौं जिल्लाका आफूनिकट कार्यकर्ताहरूको कार्यकर्ता भेलामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसद् विघटन र पार्टीको आधिकारिकताबारे अदालतबाट आफ्नै पक्षमा फैसला आउने ठोकुवा गरेका हुन् ।

आधिकारिक व्यक्ति को हो र आधिकारिक पार्टी तथा निर्णय को हो भन्ने छुट्याउन सर्वोच्च अदालत सक्षम रहेको बताए । चर्चित कलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै ओलीले पार्टीको आधिकारिकताको विषयमा अदालतले आफ्नो पक्षमा फैसला दिने बताए ।

‘एकपटक चार्ली चाप्लिनको क्यारिक्याचेर गर्ने प्रतिस्पर्धा भएछ। कसले गर्ने सबैभन्दा राम्रो क्यारिक्याचर भनेर। त्यहाँ चार्ली पनि सहभागी भएछन्। चार जना फाइनल राउन्डमा पुगेछन्। त्यसमा चार्ली पुगेछन्। क्यारिकेचरको अन्तिममा अरु नै असली चार्ली ठहरिएछ,’ ओलीले कथामा प्रचण्ड-नेपाललाई व्यंग्य गर्दै भने, ‘हाम्रो अदालत चार्ली चाप्लिन कुन हो भनेर छुट्याउन नसक्ने अवस्थामा छैन। जुँगा हेरे चिन्छ। जेल लगाएको कपाल हेरेर चिन्छ। अनुहार हेरेर चिन्छ। अनेक हिसाबले चिन्छ। कुम हल्लाभएको भएपनि चिन्छ।’

सर्वोच्च अदालत सक्षम रहेको भन्दै ओलीले आफ्नो पक्षमा फैसला आउनेमा कार्यकर्ताहरूलाई विश्वस्त पार्न खोजेका हुन् । सूर्य चुनाव चिह्न आफूसँगै रहेको भन्दै ओलीले त्यसमा कुनै शंका नराख्न कार्यकर्ताहरूलाई विश्वस्त पारे । ‘ढुक्क हुनुस् साथीहरु सूर्य चिन्छ हामीसँग हुन्छ। पार्टी हाम्रो हुन्छ,’ ओलीले चुनाव चिन्ह र पार्टी आफ्नो बनाउँने दाबी गर्दै भने, ‘उहाँहरुले बहुमत छ भन्नु भएको छ। ‘गफै त हो सम्धी’ भने जस्तो हो। कहाँबाट आयो बहुमत उहाँहरुसँग? कहाँ पुष्टि भयो? कुन महाधिवेशन वा कुन अधिवेशनले भन्यो?’

उनले पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई दिएको तर त्यसबाट पार्टी नै उनको नभएको धारणा राखेका थिए । ओलीले दाहाल पक्षलाई अझै पनि पार्टीका बैठकमा आउन आग्रह गरेका छन् । उनले नेकपा (दाहाल-नेपाल)पक्षका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीमा फर्किन आग्रह गरेका छन् । आफूले झैं देशको चिन्ता गर्न दाहाल र नेपाल पक्षलाई ओलीले आग्रह गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.