८० प्रतिशतले घट्यो पर्यटक आगमन

८० प्रतिशतले घट्यो पर्यटक आगमन

१९ पुस, काठमाडौं ।
सन् २०२०लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो ।

सो वर्षमा २० लाख पर्यटन नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेपनि कोरोना संक्रमणका कारण लक्ष्य हासिल हुन सकेन । गत वर्ष २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिएका अध्यागमन विभागले जनाएको छ ।

एक लाख ८३ हजार एक सय ३० जना हवाईमार्ग र ४६ हजार नौ सय ५५ जना विभिन्न नाका हुँदै स्थलमार्गबाट नेपाल आएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ८० प्रतिशत कम हो ।

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । विभागका अनुसार सन् २०२० मा एक सय ७० देशबाट विदेशी पर्यटकहरु नेपाल आएका हुन् ।

सबैभन्दा धेरै भारतबाट ४० हजार ३ सय ३६ पर्यटक नेपाल भित्रिएका हुन् । यस्तै म्यानमारबाट २० हजार नौ सय ११, थाइल्याण्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार दुई सय ५७, अमेरिकाबाट १७ हजार सात सय ६७, श्रीलंका १३ लाख ३ सय २८, बेलायतबाट ११ हजार ७ सय ६२ जना आएका हुन् ।

त्यस्तै २०२० मा विदेशमा रहेका चार लाख ९१ हजार ४ सय ४८ नेपाली स्वदेश फर्किएका विभागले जनाएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।

तर, पर्यटन वर्ष कार्यक्रमको घोषणा लगत्तै कोरोना महामारी सुरु भएकाले सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य अधुरै रहेको छ ।

कोरोनाले विदेशी पर्यटक भित्र्याउने काम प्रभावित भएपछि यो वर्ष भने सरकारले आन्तरिक पर्यटक प्रवर्द्धनमा जोड दिएको छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्ताको दुई दिन छुट्टि दिने व्यवस्थाका लागि सरकारलाई प्रस्ताव समेत गरेको छ ।

सरकारले पर्यटकीय गन्तव्यहरु खुला गरेसँगै अहिले आन्तरिक पर्यटकको केही चहलपहल देखिन थालेको छ तर, विदेशी पर्यटक भित्र्याउन सरकारले ठोस नीति कदम चालेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.