१९ पुस, जनकपुर ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गरी संसद विघटन गरेको बताएका छन् । जनता समाजवादी पार्टीको युवा प्रशिक्षण कार्यक्रममा आइतबार जनकपुरमा बोल्दै मुख्यमन्त्री राउतले संविधानले नै सरकार बनाउने विभिन्न सम्भावना हुँदाहुँदै पनि संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए ।
उनले भने ‘संविधानको जुन धारा देखाएर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो संवैधानिक छैन् । सरकार बन्ने स्थिति रहेसम्म संविधानले संसद विघटनको परिकल्पना गरेको छैन् ।’ सर्वाेच्च अदालतले संविधानका धारा हेरेर संसद पुनर्स्थापना गर्ने उनको विश्वास थियो ।
उनले परिवर्तनका लागि भएका हरेकखाले आन्दोलनका सामु तानाशाहरु झुकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यही हविगत हुने बताए । मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई सन्की तानाशाहको उपमा समेत दिए ।
‘कस्ता–कस्ता तानाशाहलाई त आन्दोलनले ठेगान लगाइदियो,’ राउतले भने,‘मधेस आन्दोलनले त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त झुके । जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्रलाई झुकायो । केपी ओली कुन खेतको मुली हो । यिनको तानाशाही पनि आन्दोलनले विस्थापित गर्नेछ ।’
उनले प्रधानमन्त्री ओलीले सत्ता र पद लम्ब्याउन प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । मुख्यमन्त्री राउतले प्रमुख प्रतिपक्षी दल कांग्रेसको ढुलमुले नीतिका कारण पनि संसद् विघटनको मुद्दा जेलिएको बताए ।
‘कांग्रेसको मनमा लड्डु फुटिरहेको छ,’ मुख्यमन्त्री राउतले भने,‘चुनाव भयो भने बहुमतको सरकार बन्छ कांग्रेसको बुझाइ छ । तर, ओली चुनाव गराउन होइन्, सत्ता लम्ब्याउन संसद् विघटन गरेको बुझ्नुपर्छ ।’