१९ पुस, काठमाडौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् ।
आइतबार पेरिसडाँडामा बसेको नेकपा (दाहाल–नेपाल) समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका हुन् ।
सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको छ। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।
मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने दाहालले बताएको एक स्थायी कमिटी सदस्यले बताए । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट यो समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो ।