निजगढ अन्तर्राष्ट्रिय विमानस्थल: गुरुयोजना बनाउन भारतको सीजी इन्फ्राटा–बीडीए (जेभी)सँग सम्झौता

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल: गुरुयोजना बनाउन भारतको सीजी इन्फ्राटा–बीडीए (जेभी)सँग सम्झौता

काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच सम्झौता भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) सँग सम्झौता गरेको जानकारी दिनुभयो । यसअघि प्राधिकरणले आशय–पत्र (लेटर अफ इन्ट्रेस्ट) जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको थियो ।

उहाँले भन्नुभयो, ‘‘अबको १३ महिनाभित्र सीजी इन्फ्राटा–बीडीए (जेभी) कम्पनीले विमानस्थलको गुरुयोजना तयार गरिसक्नुपर्ने गरी सम्झौता भएको छ । गुरुयोजना निर्माणको लागत २९ करोड ८९ लाख रुपियाँ रहेको छ ।’’ विमानस्थलको नयाँ गुरुयोजना तयार पारेर प्राधिकरणमा पेस गर्ने उहाँले बताउनुभयो ।

गत असोजमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माणका लागि कम्पनी छनोट गरेको हो ।

गुरुयोजना निर्माणका लागि प्राधिकरणले माग गरेको आशय–पत्रमा १३ वटा कम्पनीले आवेदन भरेका थिए, जसमध्ये छवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएका थिए । सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छवटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो, जसमध्ये तीनवटा कम्पनीबाट मात्र विस्तृत प्रस्ताव आएका थिए । प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘‘विस्तृत प्रस्ताव आएका मध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको सीजी इन्फ्राटा–बीडीए कम्पनीले गुरुयोजना निर्माणका लागि छनोट भएको हो ।’’ सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीमध्येबाट पुनः विस्तृत प्रस्ताव माग गरिएकोमा तीनवटा कम्पनीले मात्र प्रस्ताव पेस गरेको थियो, जसबाट सीजी इन्फ्राटा–बीडीए (जेभी) छनोट भएको हो ।, याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.