प्रचण्डले हार्ने भएपछि निर्वाचन नै बहिष्कार गर्न सक्छन् : मुख्यमन्त्री पोखरेल

प्रचण्डले हार्ने भएपछि निर्वाचन नै बहिष्कार गर्न सक्छन् : मुख्यमन्त्री पोखरेल

२० पुस, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले महाधिवेशनले चुनेको पार्टी अध्यक्ष केपी ओलीलाई कमिटीले हटाउन नसक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले महाधिवेशनबाट चुनिएका अध्यक्षलाई लहड्का भरमा प्रचण्ड र माधव नेपालले हटाउने हैसियत नभएको बताएका हुन्।

मुख्यमन्त्री पोख्रेलले पार्टीको विधि र पद्धति विपरीत प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लहडमा प्रचण्ड–माधवले पार्टी टुक्र्याएर गएको बताए ।प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको रक्षाका लागि प्रतिनिधिसभा विघटन गर्नु भएको भन्दै मुख्यमन्त्री पोख्रेलले सो विघटनपछि केही नेताको भने निद हराम भइसकेको बताए ।

माधव–प्रचण्डलाई इङ्गित गर्दै मुख्यमन्त्री पोख्रेलले आफ्ना गल्ती नसच्चाए उनीहरू सधैँ सडकमै रहने बताए । जनआधार नभएपछि उनीहरू चुनाव नै नहुने भन्दै हिँड्ने गरेको पोख्रेलको भनाइ थियो ।

प्रचण्डले चुनाव हार्ने भएपछि निर्वाचन नै बहिष्कार गर्न सक्ने समेत उनले बताए । निर्वाचनमा गइहाले भने पनि प्रचण्ड अबको निर्वाचनमा चितवनबाट पराजित हुने भन्दै उनले सर्वनाक हार हुने भएपछि अब प्रचण्ड चितवनबाट चुनावमा लड्ने सम्भावना नभएको समेत बताए । उहाँले कहिले रोल्पा त कहिले सिराहा पुगेका प्रचण्ड अब चितवन छाडेर नयाँ क्षेत्रमा नयाँ आश्वासन बाँड्न जाने बताए ।

नेकपा केन्द्रीय सदस्य पार्वती रावलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद तथा नेकपाका नेता कृष्ण भुर्तेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु काशीनाथ अधिकारी, आनन्द पोख्रेल, सीता पौडेल, नेकपा चितवन क्षेत्र नं.२ का संयोजक नारायणप्रसाद अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.