दाहालले आरोपपत्र फिर्ता लिए अझै पार्टी एक हुन्छः पोखरेल

दाहालले आरोपपत्र फिर्ता लिए अझै पार्टी एक हुन्छः पोखरेल

२१ पुस, सिरहा ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोमबार सिरहामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र मुलुकलाई गम्भीर सङ्कटमा धकेल्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न सरकारले बाध्यात्मक रुपमा संसद् विघटन गरी जनतामा जाने निर्णय गरेको बताए ।

निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार पाँच वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने बताए ।

नेकपाका सचिवालय सदस्य समेत रहेका उनले प्रधानमन्त्रीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको आरोपपत्र फिर्ता लिएर ताजा जनादेशका लागि निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहने सम्भावना रहेको उल्लेख गरे।

पार्टीभित्र देखिएको समस्या छिट्टै समाधान हुने उल्लेख गर्दै उनले अब पार्टीबाट गलत प्रवृत्ति भएका व्यक्ति बाहिरिएपछि पार्टी अझ मजबुत भई एकढिक्का भएर अगाडि बढ्ने बताए।

भौतिक पूर्वाधारको विकास बिना मुलुकको विकास सम्भव नभएकाले हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम रेलमार्गलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई जोडदार रुपमा अघि बढाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यही सरकारको पालामा ती कार्य पूरा हुने दाबी गरे । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.