२१ पुस, काठमाडाैँ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) असफल भएको बताएका छन्। मंगलबार जनता समाजवादी पार्टी, नेपालले गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ठूलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकोले नेकपा र नेकपाको सरकार नै असफल भएको बताए ।
सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्नको निम्ति मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफुलाई सुरक्षित राख्न गरिएको बताए ।
सरकारले संविधानलाई नै मरेतुल्य तुल्यायो: उपेन्द यादव
अन्तरक्रिया कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई नै मरेतुल्य तुल्याएको टिप्पणी गरे । फेरीफेरी पनि सरकारले यस्ता स्वेच्छाचारी कदम चाल्ने हुन कि भन्ने डर सिर्जना गरिदिएको उनको भनाई छ ।
असंवैधानिक कदमका विरुद्ध राजनीतिक शक्तिको ध्रुविकरणको आवश्यकता रहेको उनले बताए । गैर संवैधानिक हिसाबले चालेको कदमले संसदको विघटन हुन नसक्ने भन्दै उनले संसदको काम कारबाहीको जिम्मेवारी सभामुखको काँधमा रहेको बताए ।
जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।