सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिश

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण  सिफारिश

२२ पुस, सिन्धुपाल्चोक ।

विपद् सङ्कटग्रस्त क्षेत्र जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ ।

गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । टोलीमा प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन एकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले आज आयोजित पत्रकार सम्मेलनमा अध्ययन गरिएका बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको जानकारी दिए।

टोलीले जुगलका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो । बाढीपहिराले वर्षामा सिन्धुपाल्चोकमा ठूलो जनधन क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । गत असारयता जिल्लाका विपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए भने ३९ जना अझै बेपत्ता छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.