२२ पुस, काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बुधबारदेखि निरन्तर सुनुवाइ हुँदै छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ हुन लागेको हो । जबरा नेतृत्वको इजलासमा पुरानै चारजना न्यायाधीशको समूह तोकिएको छ ।
त्यसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । यसअघि पुस १० गते सर्वोच्चले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ माग गरेको थियो ।
त्यसका लागि एमिकस क्युरी पनि गठन भइसकेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दर्जनभन्दा बढी रिट परेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले यसअघिकै स्वरुपमा संवैधानिक इजलास गठन गरेका छन् ।
वरिष्ठताक्रम मिचेर ‘पिक एण्ड चुज’को शैलीमा इजलास गठन भएको भनी प्रश्न उठ्दासमेत प्रधानन्यायाधीश जबराले त्यसलाई सम्बोधन गर्न इच्छा नदेखाएका हुन् ।