भारत लैजाने क्रममा तीन किशोरीको इलामबाट उद्धार

भारत लैजाने क्रममा तीन किशोरीको इलामबाट उद्धार

२३ पौष, इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ ।

पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा यस टोलीले सोधपुछ गरेको थियो ।

उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए ।

सङ्खुवासभा घर भएर अहिले काठमाण्डौ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाण्डौमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौं लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतको दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार रुपैयाँ तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ । उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा रहेका दर्जनौँ चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गएको मङ्सिरमा मात्र चोर बाटोका प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दश किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोली उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.