२३ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बैशाखमा चुनाव नहुने बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने संसदको अधिकार भएकोले त्यससँग डराएर संसद विघटन गर्न नहुने बताए ।
पार्टीले काम गर्न नदिए अध्यक्ष असफल भएको हुने र अविश्वास प्रस्ताव आउन लागे प्रधानमन्त्री असफल हुने भन्दै उनले सरकारलाई पार्टीले सहयोग गरेको भएपनि पार्टीको विवादमा प्रधामन्त्रीले संसद र व्यवस्था माथि प्रहार गरेको बताए ।
वैशाखमा चुनाव नहुने भन्दै उनले प्रधानमन्त्रीले झुटो बोलेको साबित भएको बताए ।
उनले भने ‘पार्टीले काम गर्न दिएन भने पार्टीको अध्यक्ष असफल रहेछन् भन्ने जान्नुपर्यो । संसदले अविश्वास प्रस्ताव ल्याउने भयो भने प्रधानमन्त्री असफल भयो त । अविश्वास ल्याउने त संसदको अधिकार हो । ३ वर्ष बजेट पारित गरिदियो । कार्यनीति पारित गरिदियो । विधेयक पारित गरिदियो । विवाद पार्टीमा भयो । प्रहार संसदलाई गर्ने ? जनता र व्यवस्थाको विरुद्ध प्रहार गर्ने ? संविधानलाई शक्तिहिन बनाउन खोज्ने ? ताजा जनादेश प्रधानमन्त्रीको हुकुमबाट हुने कि संविधानबाट हुने ? ५ वर्षमा हुने चुनावलाई अढाइ वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ? संवैधानिक सर्वोच्चताको सिद्धान्त हामिले अंगालेका छौ । यो देशको ठुलो संविधान हो । संवैधानिक सर्वोच्चता ठुलो हो । वैशाखमा चुनाव हुन्न । प्रधानमन्त्रीले फटाहा बोलेको हो भन्ने साबित हुन्छ ।’
सांसद बिडारीले संविधान निर्माण गर्दाताका देश विदेशका विज्ञहरुसँग परामर्श गरी प्रतिनिधि सभा प्रधानमन्त्रीको सनकको भरमा भंग गर्न नसकिने बनाइएको बताए ।
सरकारको अलोकप्रियता बढ्दै गएकाले यो व्यवस्था, बहुदलीय प्रतिस्पर्धा हुने प्रणाली र आफ्नै पार्टीका विरुद्धमा संसद विघटनको घोषणा गरिएको उनको भनाई छ ।
राष्ट्रियता, संघीयता, एकता, तथा गणतन्त्रको प्रतिक राष्ट्रपतिलाई समेत संसारका अगाडी लज्जीत बनाउने दुष्कार्य गरिएको उनले बताए । संसद विघटनले राज्यको सबै संवैधानिक आयोगका पदाधिकारीलाई पनि विवादास्पद बनाउने काम भएको उनको भनाई छ ।