प्रधानमन्त्री ओली धनगढीमा, जनसभालाई सम्बोधन गर्ने तयारी

प्रधानमन्त्री ओली धनगढीमा, जनसभालाई सम्बोधन गर्ने तयारी

२४ पौष, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान धनगढी पुगेका छन् । श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी अवतरण गरेका हुन् ।

नेकपाका नेता नारदमुनी रानाका अनुसार प्रधानमन्त्री ओली केही बेरअघि धनगढी आइपुगेका हुन्।

प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी जानेछन्। केहीबेर त्यहाँ विश्राम गर्ने कार्यक्रम रहेको रानाले बताए।

त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।

प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन्।

प्रधानमन्त्री ओली नेतृत्वको दलले सुदूरपश्चिममा बुधबार भेला गरेर प्रदेश कमिटीसमेत विस्तार गरेको थियो। सुदूरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको थियो।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए।

सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको थियो भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत नगर्ने भएका छन्। प्रचण्ड-नेपाल पक्षीय नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरू नजाने बताए।

प्रचण्ड-नेपाल समूहले ओलीलाई लक्षित गरी प्रदर्शन गर्ने योजना बनाएका छन्।

ओली समूहले आमसभा भने पनि उनको कार्यक्रममा दुई हजार मान्छे पनि नआउने उनको दाबी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.