२४ पौष, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले विकास निर्माणको लागि अर्बौ रकम अपुग भइरहेको अवस्थामा अर्बौ रकम खर्च गरी निर्वाचन गर्नु बेठीक भएको बताएकी छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै भट्टले देशमा विकास निर्माणका लागि अर्बौ रकम अपुग भएको अवस्थामा निर्वाचनमा अर्बौ रकम खर्च गर्न खोज्नु कुनैपनि हिसाबले ठीक नभएको उनले बताइन् ।
जनताको सर्वोच्च निकाय प्रतिनिधि सभालाई वर्तमान समयमै विघटन गरिनु कुनैपनि ढंगले ठीक नभएको पनि उनले बताइन । जनताको म्याण्डेड अनुसार मुलुकमा स्थिर सरकार, सुशासन, समृद्धि र दिगो विकासको अपेक्षा गरिएको भएपनि प्रतिनिधि सभाको विघटनले बिडम्बनापूर्ण अवस्था सिर्जना भएको उनको भनाई छ ।
उनले दिगो विकासको लक्ष्य प्राप्तिको निम्ति सरकारले जनाएको अन्र्तराष्ट्रिय प्रतिबद्धता अनुसार काम नभएकोे बताइन ।
उनले भनिन् ‘आज हामी अत्यन्त संवेदनशिल अवस्थामा छौँ । कोरोनाको महामारीसँग जुधिरहेका छौँ । थप महामारी आउनसक्ने संकेत दिइरहेका छन् । सिंगो मुलुक दत्तचित्त र एक भएर सामना गर्नुपर्ने बेला सरकार ढलाउने, संसद विघटन गर्ने, कुर्सिको हानाथापमा न त सरकार नै संवेदनशिल छ न अन्य देखिएका छन् । जुन, मुलुकको लागि दुर्भाग्यपूर्ण भएको छ । नेपाली जनतालाई केन्द्रविन्दु बनाएर अघि बढ्नुपर्ने बेला जनताको सर्वोच्च निकाय प्रतिनिधि सभालाई वर्तमान समयमै विघटन गरिनु कुनैपनि ढंगले ठिक छैन । यसको म घोर विरोध गर्दछु । जनताको म्याण्डेड अनुसार मुलुकमा स्थिर सरकार, सुशासन, समृद्धि र दिगो विकासको अपेक्षा गरिएको थियो । तर बिडम्बना भएको छ । हरेक नेपाली जनता मर्माहत भएको अवस्था छ । म आज सरकारको विशेष ध्यानाकर्षण गराउन चाहान्छु की दिगो विकासका लक्ष्यहरु हासिल गर्न हामि अति चिन्तित र समय हेरेर आशातित भएर होसिएको अवस्था थियो । म के स्मरण गराउन चाहान्छु भने, नेपालले जनाएको अन्र्तराष्ट्रिय प्रतिबद्धता अनुसार सन् २०१५ देखि २०३० सम्म हामिले दिगो विकासका लक्ष्यहरु प्राप्त गरिसक्नुपर्ने र हामिसँग पूर्व सरकारको पालामा बनेको रोडम्याप मात्र छ । काम केही भएको छैन कुराहरु ठुलाठुला भएका छन् । लक्ष्यहरु हासिल गर्न हामिसँग अर्बौ रकम अपुग भएको अवस्था छ । ति लक्ष्य पुरा गर्न सहुलियतपूर्ण ऋण लिनुपर्नेछ भने कतिपय अवस्थामा विभिन्न राष्ट्रहरु मार्फत लगानी भित्राउनुपर्ने जस्ता लक्ष्यमा सरकारको ध्यानाकर्षण जानु जरुरी छ । दिगो विकास लक्ष्य प्राप्त गर्नको लागि ४ वर्ष त्यत्तिकै ढिलो भइसकेका छौँ । विकास निर्माणका लागि अर्बौ रकम अपुग भएको अवस्थामा निर्वाचनमा अर्बौ रकम खर्च गर्न खोज्नु कुनैपनि हिसाबले ठिक छैन । र यसको विरोध गर्दछु ।’
जनताबाट फ्रेस म्याण्डेड लिएको ३ वर्ष नपुग्दै पुनः जनताको म्याण्डेड लिन निर्वाचन गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ । विभिन्न वैकल्पिक अवस्थाहरु हुँदाहुँदै चुनावमा जानुपर्ने आवश्यकता नरहेको उनले बताइन् । जनताले सरकारको असक्षमता तथा क्रियाकलाप हेरिरहेको भन्दै उनले अहिले रोगहरुको व्यवस्थापन र विकासको मुद्धाहरुमा बहस गनुपर्ने बेला भएको बताइन् ।
उनले बाढी पीडित, पहिरो पीडित लगायतको हालसम्म व्यवस्थापन हुन नसकेको, गरिबहरु भोकभोकै मरिरहेको भन्दै प्रधानमन्त्रीको भोकले कोही मर्ने छैन भन्ने उक्ति कहाँ पुग्यो ? भन्दै प्रश्न गरिन् । सरकारको कोभिड व्यवस्थापनले अस्पताल भद्रगोल भएको पनि बताइन् ।