ढुक्क हुनुहोस् चुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री ओली

ढुक्क हुनुहोस् चुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री ओली

२५ पुस, काठमाडौं।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले न्यायलयको फैसलामाथि विश्वास गर्न आग्रह गरेका छन् । आज राजधानीमा युवा संघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

उनले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चमा रहेकाबेला केही दल सडक आन्दोलनमा जानु उचित नभएको उनले बताए। “न्याय प्रभावित हुन्छ, सत्य प्रभावित हुन्छ भन्ने तपाईहरु नठान्नुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “ताजा जनादेशका लागि जनतामा जान्छु भन्दा असंवैधानिक कसरी भयो ? बहुमत प्राप्त सरकारले गरेको कदम कसरी असंवैधानिक हुन्छ ?”

सरकारले नयाँ जनादेशकालागि निर्वाचनको घोषणा गरिसकेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने बताए । “केपी ओलीले निर्वाचन गराउँदैन भन्ने हल्ला चलाइरहेका छन्, तपाईहरु ढुक्क हुनुहोस् चुनाव तोकिएकै मितिमा हुन्छ ।” चुनावको तयारीमा लाग्न उनले सबैमा आव्हान गरे।

“सरकारले काम गर्न खोज्दा काम गर्न नदिइएकाले अवको निर्वाचनबाट काम गर्न नसक्ने तत्वलाई जनताले किनारा लगाउनुपर्छ” उनले भने, “म जब जब विमारी पर्छु तव तब कसैको चेहरा उज्यालो हुने गर्छ किन ? ” सरकारले देश विकासको काम गर्दा खुशी हुन छाडेर केही मानिस चिन्तित भएको देख्दा आफूलाई अचम्म लाग्ने गरेको उनले बताए ।

संविधानको धारा ७६ को उपधारा ७ मा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन तोक्ने व्यवस्था रहेकाले सरकारको कदम संवैधानिक भएको प्रधानमन्त्री ओलीले प्रष्ट पारे । सरकार बनाउने अर्को विकल्प अहिले नरहेकाले ओलीलाई ढालेर नयाँ सरकार गठन गर्ने र पदमा पुग्ने सपना नदेख्न पनि उनले आग्रह गरे ।

कहिल्यै सूर्य चिन्हमा चुनाव नलडेकाहरुले सूर्य चिन्ह मेरो हो भन्न नमिल्ने उनले बताए । उनले भने, “कहिल्यै सूर्य चिन्हमा चुनाव नलडेकाहरुले सूर्य चिन्ह मेरो हो भन्न यिनीहरुलाई लाज लागेन ? ”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.