२६ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामाथि घात गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले ललितपुर पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा बलिदानबाट प्राप्त संविधान विपरित हुने गरि संसद भंग गरिएको उनीहरुले उल्लेख गरेका छन् । विद्यार्थीहरूले रिक्सामा बयलगाडाको जस्तै स्वरूप बनाएर प्रदर्शन गरेका थिए। बयलगाडा गुडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।
ललितपुरको पाटनमा प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव भएको थियो। यस्तै आजै दिउँसो २ बजे माइतीघर मण्डला र भक्तपुरको सानोठिमीमा अपरान्ह ४ बजे बयलगाडाको स्वरूप बनाएर प्रदर्शन गर्ने कार्यक्रम छ।
संसद् विघटनपछि नेकपामा दुई समूह विभाजित छन्। प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध विभिन्न जुलुस तथा प्रदर्शन गर्दै आएको छ।