२६ पुस, बारा।
बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ।
शनिबार राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करीमा संलग्न ८–१० जनाको समूहले गोली हानेको हो। बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो।
त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो। जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो। घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ। साथै १०२ किलो गाँजा पनि बरामद भएको डीएसपी गौतमले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।