२७ पुष, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने कि नरहने, औपचारिक रुपमा विभाजित हुने कि नहुने भन्ने अन्यौलता कै बीच दुबै समूह शक्ति सञ्चय गर्नमा केन्द्रीत भएका छन् ।
केन्द्रीय समिति विस्तार, पदाधिकारीमाथि कारबाही जस्ता गतिविधिसँगै कार्यकर्ताको समर्थन जुटाउन केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह नै लागि परेका छन् । २०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा नेकपामा ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो । २ सय ९७ जना केन्द्रीय सदस्य दाहाल–नेपाल समूहमा गएपछि भारी अल्पमतमा परेको ओली समूहको पुष ७ गते बसेको केन्द्रीय कमिटी वैठकले सदस्य संख्या ११ सय ९९ पुर्याएको थियो । त्यतिखेरै ओलीले ५ सय ९६ जनालाई मनोनयन गरेर १ सय ९६ सिट रिक्त राखेका थिए । अहिले फेरी ओली समूहले विधान संशोधन गरेर केन्द्रीय सदस्य थप गर्दै १५ सय १ सदस्यीय बनाएको छ । पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मा लेखिएको छ–‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजार ५ सय १ सदस्यीय भएको छ’ । अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले दिइएको कार्यकारी अधिकार फिर्ता लिइएको उल्लेख छ । यसको अर्थ दाहालको कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ । पार्टी एकता हुँदा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो । दाहाल–नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना केन्द्रीय सदस्य गएपछि विभाजनको पर्खाइमा रहेको ओली समूहको नेकपाले केन्द्रीय समितिमा थप मनोनित गरेर केन्द्रमा आफ्नो आकार ठूलो देखाउने प्रयास गरेको छ । तर एकलौटी ढंगले केन्द्रीय कमिटी विस्तार गर्ने ओलीको कदम वैधानिक नहुने दाहाल–नेपाल समूहको दाबी छ ।
उसले त झन, ओलीलाई कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको छ । संगठनात्मक अवस्था कमजोर रहेको सुदूरपश्चिम प्रदेशबाट मात्र ओली समूहले करिब एक सय जनालाई केन्द्रीय सदस्य बनाएको छ । दलको आधिकारिकता विवाद निर्वाचन आयोगले निरुपण गर्दै गर्दा ओली समूह भने बलियो बन्दै गएको छ । प्रधानमन्त्री समेत रहेका ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकेर प्रचारप्रसार गर्न अपिल गर्दैैछन् । निर्वाचन लक्षित गतिविधि बनाउन कार्यकर्तालाई निर्देशन दिँदै केन्द्रमा समेत कमिटी विस्तार गरी ओली थप शक्ति आर्जन गरिरहेका छन् । अल्पमत र बुहमतको खेल अनि शक्ति संचय र आर्जनले नेकपामा भने ग्रहण लागेको छ ।