द्वन्द्व बढाउने कार्य गरेको भन्दै मपका प्राध्यापकहरुद्वारा प्रशासनको निन्दा

द्वन्द्व बढाउने कार्य गरेको भन्दै मपका प्राध्यापकहरुद्वारा प्रशासनको निन्दा

२८ पौष, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनले बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व बढाउने कार्य गरेको भन्दै मपका विश्वविद्यालयका प्राध्यापकहरुले निन्दा गरेका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनको निन्दा गरेका हुन् ।

शैक्षिक मागहरु राखेर ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुमाथि यही पुस २६ गते प्रहरी लगाएर गरिएको दमनको सन्दर्भमा उनीहरुले विरोध जनाएका छन् ।

प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको मनोबल गिराउने प्रवृत्ति विश्वविद्यालय प्रशासनमा देखिएको भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘प्राज्ञिक थलोको गरिमा घटाउने गरी पटक-पटक यस्ता गतिविधिहरु पुनरावृत्ति हुँदै गएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त घटनामा घाइते भएका विद्यार्थीहरुको स्वास्थ्य लाभको कामना गर्दै जायज मागहरु वार्ता र संवादका माध्यमबाट समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

प्राध्यापकहरुले विश्वविद्यालयमा कार्यरत शिक्षकरकर्मचारीहरुको सेवा सुविधा नियमित रुपले उपलब्ध गराउन र स्थायित्व प्रक्रिया यथाशीघ्र अगाडि बढाउन पनि माग गरेका छन् ।

ऐन नियमअनुसार विश्वविद्यालय सन्चालन गर्न, लामो समयदेखि रिक्त रहेका पदाधिकारीहरुको नियुक्ति गर्न तथा विश्वविद्यालय सन्चालनमा साझा सहभागीतालाई सुनिश्चित गर्ने कार्यलाई बेवास्ता गरिए कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि प्राध्यापकहरुले दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.