बाँदर लड्ने भीरमा यसरी बनाइयो आकर्षक खेलमैदान

बाँदर लड्ने भीरमा यसरी बनाइयो आकर्षक खेलमैदान

२ माघ, सिन्धुपाल्चोक ।
भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ।

तर आँट गरे के हुँदैन र ? सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीको बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान निर्माण भएको छ।

आर्थिक वर्ष २०७१–२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माणको काम अघि बढेको थियो। तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले यसको पहल लिएका थिए।

चिलाउने र अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरको नामले चिनिने स्थानमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८ गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत आयोजना गरिएको छ।

अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको खेल मैदान निर्माण गर्न करिब १० करोड खर्च भएको छ। विभागले सात करोड, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष २०७३–२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएको हो।

भीरमा माथिबाट कटिङ र तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन ।

निर्माणाधीन खेलमैदानमा पनि भूकम्पले क्षति गरेको पूर्व मन्त्री बस्नेत बताउँछन्। भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमा आरसिसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार गरिएको हो।

पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएको छ। खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढाटाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवाहरु खुसी भएका छन्।

भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा नारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको छ । बार करिब छ मिटर उचाइको छ । यो बार भने निजी क्षेत्रका तर्फबाट निर्माण गरिएको हो।

खेलमैदानसँगै ठूला र सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी र हेलिप्याडसमेत निर्माण भइसकेको छ । बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी र भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिने खेलमैदान नजिकै भ्यू टावर समेत निर्माण गरिने योजना छ ।

योसँगै ठूलो पलाँतीको यो खेलमैदान जिल्लामै आकर्षक खेल पर्यटकीय स्थलका रूपमा विकास हुने भएको छ। खेलमैदान निर्माणमा अहोरात्र खटिएका स्थानीयवासी जनार्दन बस्नेत फुटबल, भलिबल खेल्दा गर्मी भए खेलाडीलाई पौडी खेल्न पोखरी निर्माण गरिएको, स्वास्थ्यमा समस्या आए उपचारका लागि स्वास्थ्य चौकी निर्माण गरिएको बताउँछन्।

ठूलाका लागि पाँच फिट उचाइ र सानाका लागि तीन फिट उचाइको पौडी पोखरी तयार भएको छ । पौडी पोखरीका लागि चार किमी माथिबाट खानेपानी झारिएको छ । झारिएको खानेपानी जम्मा गर्न एक लाख २२ हजार लिटर क्षमताको ट्याङ्कीसमेत निर्माण गरिएको छ । यसबाट पौडी पोखरीमा बेलाबेलामा पानी फेर्न सहज हुन्छ।

स्वास्थ्य चौकी निर्माणका लागि अमेरिकाको क्यालिफोर्नियामा बस्ने स्थानीयवासी पूर्वमन्त्री बस्नेतका भाइ प्रकाश बस्नेतले सहयोग गरेका छन्। स्वास्थ्यचौकीका लागि एक जना स्वास्थ्य सहायक, कार्यालय सहयोगी, एवं निःशुल्क वितरण गर्ने औषधिसमेत सहयोगस्वरूप अमेरिकाको लायन्स क्लबबाट आउने गरेको छ।

ठूलो पलाँती बाह्रबिसेबाट गौरीशङ्कर हिमाल, विगु गुम्बा, कालिञ्चोकलगायत पर्यटकीय स्थलमा पैदल जाने मार्गसमेत भएकाले खेल पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने छ।

बाह्रबिसेबाट छ किमीमाथि पर्ने यो स्थल पैदल मार्गका क्रममा पहिलो आराम गर्ने ठाउँ हो । स्थानीयवासी शेखरबहादुर भण्डारी खेलमैदान बनाउने समयमा दुःख भए पनि बनिसकेपछिको संरचना हेरेर आराम भएको बताउँछन्।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.